सोलुखुम्बु —मौसम खराबीका कारण लुक्लामा जहाज चल्न नसकेपछि विदेशी पर्यटक वैकल्पिक स्थलमार्ग प्रयोग गरी खुम्बु जान थालेसँगै स्थानीय तहले गाडी भाडा निर्धारण गरेको छ । यातायात व्यवसायीले पर्यटकमार्फत मनोमानी भाडा उठाउन थालेको गुनासो बढेसँगै खुम्बु क्षेत्र भ्रमण गर्न आउनेका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले भाडादर तोकिदिएको हो ।
गाउँपालिकाले सदरमुकाम सल्लेरीबाट टाक्सिन्दु हुँदै जुभिङ तथा जुभिङबाट थामडाँडासम्मका लागि भाडादर तोकेको छ । गाउँपालिकाले पर्यटकलाई सल्लेरीदेखि जुभिङ दूधकोशीसम्मको १ हजार ३ सय रुपैयाँ र जुभिङदेखि थामडाँडासम्मका लागि १ हजार २ सय रुपैयाँ भाडादर कायम गरेको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरि शेर्पाले बताए । यससँगै सल्लेरीदेखि थामडाँडासम्मका लागि प्रतियात्रु २ हजार ५ सय भाडा कायम गरिएको छ ।
दूधकोशी नदीमा पक्की पुल नबनिसकेकाले पल्टी गरेर गाडी सेवा सञ्चालन भइरहेको छ । यात्रु ओसार्नका लागि कोशी वारि र पारि छुट्टाछुट्टै गाडी तैनाथ गरिएको छ । रिजर्भका लागि भने जुभिङदेखि थामडाँडासम्म १५ हजार रुपैयाँ भाडादर कायम गरिएको प्रवक्ता शेर्पाले जनाए ।
यसअघि सल्लेरीदेखि थामडाँडासम्म व्यवसायीले ४ हजारसम्म भाडा असुल्ने गरेका थिए । गाउँपालिकाले क्यु सिस्टम तोक्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कुनै पनि बहानामा महँगो भाडादर कायम गर्नेलगायत कार्य गर्न निषेध गरेको छ । निर्धारित स्टेसनमा काउन्टर स्थापना गरी यात्रुलाई सहजता दिलाउन पनि पालिकाले जारी गरेको सूचनामा भनिएको छ । गन्तव्यमा नपुगी यात्रु ओराल्न नपाइने, मौसम प्रतिकूल भएको समयमा बेलुका नौ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन नपाइने, खुम्बु क्षेत्र प्रवेश गर्ने सवारीसाधनले खरिखोला र पैयाँ प्रहरी चौकीमा इन्ट्री गराउन पनि पालिकाले भनेको छ । उडान प्रभावित भएका कारण अहिले सगरमाथा क्षेत्र भ्रमणका लागि आउने पर्यटक मन्थली विमानस्थलमा अलपत्र परेका छन् । कतिपय पर्यटक भने स्थलमार्गबाट सल्लेरी हुँदै लुक्ला गइरहेका छन् ।

