बझाङ : खप्तडछान्ना गाउँपालिकामा मनोमानी भाडा अशुल्ने क्रम रोकिएको छैन् । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् ।
जिल्लामा सवारी साधनहरुले यात्रुहरुबाट चर्को भाडा लिइरहेको गुनासो गरेपछी जिल्ला प्रशनसन कार्यालयले सवारी साधनको भाडादर कायम गरी लागु गर्न निर्देशन दिएको थियो । तर सवारी धनीहरुले भने भाडादर कार्यन्वयन गरेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको जिल्ला यातायात व्यवस्थापन समितीको बैठकले जयपृथ्वी राजमार्गमा प्रतिकिलोमिटरमा ९ रुपैयाँ र ग्रामीण सडक खण्डमा प्रतिकिलोमिटर २० रुपैयाँ भाडादर तोकेको थियो । तर जीप धनीहरुले पक्की सडक खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँ र कच्ची सडक खण्डमा प्रतिकिलोमिटर ३० देखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बझाङले चैनपुरदेखी तमैलसम्मको १२ किलोमिटरको भाडा ११० रुपैयाँ कायम गरेको भएपनि जीपधनीहरुले २०० रुपैयाँ लिने गरेको पाइएको छ । त्यसैगरी जिल्लाका विभिन्न कच्ची सडक खण्डमा समेत जीप धनीहरुले आफ्नो मनोमानी तरिकाले भाडा लिइरहेका छन् । खप्तडछान्ना गाउँपालिकामा जीप धनीहरुले पुरानै भाडा लिरहेको भएपनि सम्बन्धित निकाय मौन रहेको स्थानीय सागर सिहँले बताए । उनले तमैलबाट कालुखेतीसम्म २ सय १० रुपैयाँ तोकिएको भएपनि ४ सय रुपैयाँ नदिएसम्म जीप धनीले यात्रुलाई ओसारपसार गर्न नमान्ने गरेको गुनासो गरे । भनेजति भाडा तिरेर यात्रा गर्न बाहेक विकल्प नभएपछि आफुहरु धमाधम चर्को भाडा तिर्न बाध्य भएको यात्रुहरुको गुनासो छ । कच्ची सडकमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्दा दुर्घटनाको पनि जोखिम बढेको छ ।
जिल्ला प्रशासनले बेलाबेला भाडादर कायम गर्ने गरेको भएपनि त्यसलाई कार्यान्वयन गर्न नसेको भन्दै प्रशासनको पनि आलोचना बढ्दै गइरहेको छ । जिल्ला प्रशासनले नयाँ भाडादर कार्यान्वयन नगर्ने सवारी सञ्चालकलाई कारबाही गर्ने बताउदै आएपनि फितलो अनुगमन र प्रभावकारी नियमनको अभावले निर्णय कार्यान्वयन हुन सकेको छैन् ।
जिल्ला प्रशासनले एकलौटी रुपमा भाडादर कायम गरेको भन्दै यातायात व्यवसायीहरुले भाडादर नघटाउने बताउँदै आएका छन् । सार्वजनिक यातायातको भाडादर घटाइएको हप्तौं बितिसक्दा पनि सो निर्णय कार्यान्वयन नहुँदा सर्वसाधारण मारमा परेका छन् ।