राम सरको जिन्दगी त क्या गजबको छ है ? यो कुरा आज बिहान सुरेस चिया पसलमा ४–५ जनाको अधबैसे समुहमा भएको कुरा हो । मेरो मनमा उत्सुकता जाग्यो, को हुन त राम सर ? यस्तो आर्थिक मन्दीका बिचमा राजनीतिक निरासाले उच्चतम बिन्दु छोएको समयमा राज्यका धेरै सूचकांक निराशाजनक भएको अवस्थामा जसको जिन्दगी क्या गजबको छ ।
त्यही समुहमा गएर म सोध्न पुगे – को राम सर? एक जना व्यक्तिले राम सरको व्यक्तित्व बर्णन गर्न पुगे अनि एक अनुशासित बिद्यार्थी झैँ म पनि सुन्दै हरेक बर्णनमा टाउको हल्लाउदै मौन समर्थन दिदै बसे ।
राम सर नेपाल सरकारका सह–सचिब पदका एक व्यक्ति रहेछन । म अचम्ममा परे एक सरकारी जागिरे ब्यक्ति जो रास्ट्र सेवकको रुपमा आफुलाई परिचय दिन्छन तर त्यही रास्ट्रका हरेक सूचकांकहरु नकारात्मक भइरहेका बेला, बेरोजगारी बढिरहेको बेला, सरकारी तौर तरिकाबाट देशका जनता हैरान भैरहेको समयमा अनि नैरास्य उच्चतम बिन्दुमा पुगेको अवस्थामा एक सच्चा रास्ट्र सेवक कर्मचारीको कसरी जीवन गजबको हुन सक्दछ ? म सोचनीय अवस्थामा पुगे । अनि चियाको रु २० तिरेर मनमा बिभिन्न अनुत्तरित प्रश्न लिएर आफ्नो दिन चर्यामा फर्के ।
माथि उल्लेखित गरिएका राम सर भन्ने ब्यक्ति एक पात्र हुन भने उच्च ओहोदामा आसिन व्यक्तिको जीवन गजबको हुन्छ भन्ने सोचाई अहिलेको बहुसंख्यक व्यक्तिको सामुहिक धारणा हो | सरकारी क्षेत्रमा प्रवेस पाउनु भनेको जीवन सफल हुनु हो भन्ने परम्परागत मान्यता बोकेको जमात पनि हाम्रो समाजमा ठुलै संख्यामा छ । जसको आफ्नो जीवनको पहिलो उद्देश्य नै सरकारी सेवामा प्रवेस गर्नु रहेको हुन्छ । आफुले सरकारी क्षेत्रमा प्रवेश पाए जीवनमा सफलता भएको अनुभूति गर्ने अनि कुनै कारण बस अथक प्रयास पछि पनि असफल भए जीवनमा नै असफल भएको सोचेर डिप्रेसनमा जानेको संख्या पनि ठुलै छ ।
राजनैतिक अस्थिरता अनि जताततै नैराश्यताको भुमरीबाट गुज्रिहेको हाम्रो देशमा उद्योगी – ब्यापारीहरु, राजनीति शिक्षकहरुलाई आ–आफ्नै किसिमका समस्या तथा झन्झट हुन सक्छन तर हाम्रो समाजले यस्ता मध्यम तथा उच्च ओहोदामा आसिन व्यक्तिको जीवन शैलीलाई गजबको जीवनशैली संग चित्रण गरेको पाइन्छ |
मेरो एउटा साथी छ जसले नेपालकै एक ख्यातिप्राप्त विश्व विद्यालय बाट राम्रो उच्च शिक्षा हासिल गरि आफ्नो लगानीमा ब्यबसाय संचालन गरि केहीमात्रामा रोजगारी सृजना गरि, केहि मात्रामा भए पनि रास्ट्रलाई कर संकलनमा सहयोग पुरयाउदै आइरहेको छ तर यस्ता व्यक्तिहरु गुमनाम हुन्छन भने यस्ता उद्यमिले तिरेको करबाट पारिश्रमिक लिने व्यक्तिलाई हाम्रो समाजले प्रतिष्ठीत व्यक्तिको रुपमा चित्रण गर्ने गरेको पाइन्छ ।
हामि सबैलाई अवगत भएकै कुरा हो हाम्रो देशको ८१% अर्थतन्त्र निजि क्षेत्रले धानेको छ भने त्यसको ठूलो हिस्सा साना तथा मध्यम उद्यमिले ओगटेकोछ आजको दिन सम्म यस्ता उध्धमीलाई प्रोत्साहन गर्ने सरकारले कुनै पहली कदम चालेको भेटिदैन वा उद्यमिले प्रत्याभूति गर्न पाइरहेका छैनन् ।
केहि ठुला ब्यापारी घरानालाई छोडेर बाकि उद्यमिको अस्तित्व समाप्त हुने अवस्थामा छ । कोभिड पछी सिथिल बनेको अर्थतन्त्र दिनानुदिन खस्किदै गईरहेको छ भने थुप्रै साना तथा मध्यम उद्यमिले आफ्नो व्यवसाय छोडेर बिदेस पलाएन भैसकेको अवस्था छ । त्यहि उद्यमिले तिरेको करबाट आफ्नो पारिश्रमिक पाउने राम सर जस्ता व्यक्तिको जीवन कसरी गज्जबको हुन सक्छ ?
राज्यको नीति नियम बनाउने ठाउमा पुगेका व्यक्तिहरुले समय सुहाउदो उपयुक्त नीति बनाउन नसक्नु नि व्यवसाय नफस्टाउँनुको मुख्य कारण हो । यस्ता व्यक्तिहरुले बनाएका नीति नियमका कारण ब्यबसायिहरु असफल भईरहने तर कहिले सम्म ? गलत नीति नियमका कारण वा उद्यमि लक्षित उपयुक्त नीति अभावका कारण ब्यबसायीलाई पर्न गएको पिर मर्काको जवाफदेहिता त्यो तहमा आसित व्यक्तिले लिनुपर्छ कि पर्दैन ? आफ्नो उत्तरदायित्व र जवाफदेहिता लाई बिर्सेर राम सरको जस्तो गज्जबको जीवन बिताई राख्ने ? यो पनि मेरो प्रश्न हो ?
अहिलेको समयमा कुनैपनि क्षेत्रको बिकास गर्नका लागि त्यो क्षेत्रमा लागेका व्यक्तिहरुको सामाजिक पुँजीलाई राज्य तथा समाजले उपयुक्त स्थान दिनु जरुरी हुन्छ । हामी समाजमा जति अन्तर घुलित हुने गर्दछौ त्यतिनै समाज प्रतिको दायित्व र सामाजिक सम्पति बढी भएको पाउने गर्दछौ । मान्छेलाई आत्मविश्वासले देस प्रति उत्तरदावित्व बोध, काम प्रति प्रतिबद्ध गराउने काम सामाजिक पुजिले गर्ने गर्दछ ।
यहि राज्यले अहिलेका सम्पूर्ण साना मझौला तथा ठूला उद्यमिहरुलाई उनीहरुको सामाजिक पुजिंमा बृद्दी गराइदिएको खण्डमा देशको अर्थतन्त्रले सकारात्मक दिशा लिनेमा दुइमत छैन । जब मानिसको सामाजिक पुजिंको बृद्धी महसुस हुन्छ तब ति व्यक्तिहरुले आफ्नो र परिवारको बारेमा मात्र नसोची रास्ट्रको बारेमा सोच्न थाल्दछन ।
कुनैपनि व्यक्ति जुनसुकै पेशामा लाग्दानी उसको इच्छाशाक्तिले अहम भूमिका निर्वाह गरेको हुन्छ । राज्यमा यस्ता थुप्रै व्यक्तिहरु छन् जो उच्च शिक्षा हासिल गरेर पनि जो आफ्नो सानो ब्यापार ब्यबसाय संचालन गरेर बसिरहेका छन् । यस्ता व्यक्तिहरुले अहिलेको अवस्थामा सुबिधा सम्पन्न रास्ट्रमा आफु तथा आफ्नो परिवारलाई सुरक्षित ब्यबस्थापन गराउन सक्दथे भने नेपाल सरकारको लोकसेवा पास गरि उच्च ओहोदामा गएर एक जागिरे भएर राम सरको जस्तो गज्जबको जीवनशैली निर्बाह गर्न सक्दथे तर आफ्नो दृढ इच्छाशक्तिले गर्दा यस्ता व्यक्तिहरु आफ्नो व्यवसायबाट राज्यको हरेक उपलब्धिको सारथी बन्दै आर्थिक क्षेत्र चलायामान गराउने मेरुदण्ड बनिरहेका हुन्छन ।
कुनैपनि सक्षम व्यक्ति यदि व्यवसायमा नलागी लोकसेवा तिर लागेको भए उच्च ओहोदामा पुग्न सक्दथे भन्नेकुरा राज्यले समयमै बुझी, यस्ता व्यक्तिहरुका लागि समाज तथा राज्यले सामाजिक पुँजी निर्माण गरि राज्यको बिकासमा प्रोत्साहन गर्न सकेको अवस्थामा देशको बिकासको गतिले कायापलट गर्नेमा शंका थिएन । फेरी पनि प्रश्न नै मनमा आउँछ । हामीले त्यस्तो राज्य कहिले पाउँला ? कुन पूस्ता त्यस्तो भाग्य लिएर जन्मिएला ?
लेखक
शैलेस सिहं
युवा व्यवसायि, सुदूरपश्चिम
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३