
धनगढी – नेपाल राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग आठ खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ टोली नेपाल भ्रमणमा आउने र आठ खेल हुने जनाएको छ। नेपालको सिनियर टोली र ‘ए’ टिमले आठ खेल खेल्नेछन्।
आइसिसी वरीयताको टेस्टतर्फ आयरल्यान्ड १२औँ स्थानमा छ। एकदिवसीयतर्फ १३औँ स्थानमा छ। नेपाल भने एकदिवसीयतर्फ १५औँ स्थानमा छ।
क्यानका अनुसार नेपालको सिनियर टोलीले पहिलो दुई खेल टी–२० फर्म्याटमा खेल्नेछ। खेल ११ र १२ चैतमा हुनेछ।
दुई दिनको विश्रामपछि नेपालको ‘ए’ टिमले तीन टी–२० खेल खेल्नेछन्। चैत १५, १६ र १७ गते लगातार हुनेछ।
यस्तै, नेपालको ‘ए’ टिमले २१ चैतदेखि ६ दिनको बीचमा तीन एकदिवसीय खेल खेल्ने तालिका छ। खेल २१, २३ र २५ चैतमा हुनेछन्। क्यानले कुन मैदानमा खेलाउने भनेर निर्णय गरेको छैन।

