काठमाडौं – क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ ।
सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्यो ।
नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।
तर अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो ।
यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए ।
अनिलले ११६ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे भने भीमले १२७ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक बनाएका हुन् ।
एकदिवसीय क्रिकेटमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको यो पहिलो पटक हो । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । उसका लागि नवनित दलिवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए ।
नेपालका डेब्युटेन्ट हेमन्त जिसीले ३ विकेट लिए भने कुशल मल्लले २ तथा पवन सरार्फ, आकाश चन्द र ललित राजवंशीले समान १–१ विकेट लिएका थिए ।
यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३