
धनगढी – सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको जोखिम अझै कायमै रहेको छ।
८८ पालिका रहेको यो प्रदेशको ४५ पालिकामा अझै पनि एक भन्दा बढी कुष्ठरोगी रहेका कारणले यो कुष्ठरोगको जोखिम कायमै रहेको हो ।
समाजभित्र अझै पनि कुष्ठरोगी लुकेर रहेकाले तिनको खोजपड्ताल गर्न र कुष्ठरोगलाई शून्यमा झार्न सबैको सहयोग आवश्यक रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए ।
कुष्ठरोगीलाई अझै पनि हेला गर्ने परिपाटी कायम रहेकाले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको डा. जोशीको भनाइ थियो ।
८८ पालिका रहेको सुदूरपश्चिममा ५० भन्दा र २० भन्दा बढी बिरामी एक÷एक पालिकामा रहेका छन् । यस्तै, ११ देखि २० बिरामी दुई पालिकामा, पाँचदेखि १० बिरामी आठ पालिकामा, एकदेखि चार बिरामी ३३ पालिकामा रहेका छन्। ४३ पालिकामा भने कुष्ठरोगको शून्य केस रहेको जनाइएको छ।
आर्थिक वर्ष २०७९/८० मा मात्रै यो प्रदेशमा २३० जना कुष्ठरोगी फेला परेका छन। जसमध्ये तीन जनामा रोग बल्झिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कुष्ठरोग लागेकामध्ये १४ जना बालबालिका रहेका छन्। स्वास्थ्यकर्मीका अनुसार बालबच्चामा कुष्ठरोग लाग्नु गम्भीर विषय हो ।

