बझाङ : बझाङमा पछिल्लो समयमा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको छ । जिल्लामा सञ्चालित क्याम्पसहरुमा हरेक बर्ष विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । उच्च शिक्षा प्रदानका लागि खुलेका क्याम्पसहरुमा विद्यार्थीहरुको अभाव रहेको छ ।
विगतको तुलनामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएको जयपृथ्वी बहुमुखी क्याम्पस भोपूरका प्राध्यापक दिर्घराज पण्डितले बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसमै उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या कम हुँदै गएको उहाँले बताउनुभयो । जयपृथ्वी बहुमुखी क्याम्पसमा हरेक बर्ष भर्ना हुने विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । रोजगारमूलक शिक्षाको अभ्यास नहुँदा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको क्याम्पस प्रमुख पण्डितको भनाइ छ । उहाँले अहिले विदेशतिर जानेको संख्या बढ्दै गएको र पढेर के गर्ने भन्नेहरुको संख्या बढ्दै गएको बताउनुभयो ।
जयपृथ्वी बहुमुखी क्याम्पसमा मात्रै नभएर जिल्लामा सञ्चालित अन्य क्याम्पसहरुमा समेत विद्यार्थीको अभाव रहेको छ । कतिपय ठाउँमा विद्यार्थीको अभावमा क्याम्पसहरु बन्द हुने अवस्थामा समेत पुगेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिकामा रहेको एक मात्रै मुख्य क्याम्पस खापरदेब बहुमुखी क्याम्पसमा पनि विद्यार्थीहरुको संख्या न्यून रहेको प्राध्यापक रमेश बहादुर सिंहले बताउनुभयो । पछिल्लो समयमा मान्छेले सहर नै बढी रोज्ने गरेकाले उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या कम हुँदै गएको बताउनुभयो । उहाँले पहाडी क्षेत्रहरुमा खासै रोजगारीका अवसरहरु पनि नहुने गरेकाले स्नातक तहसम्म अध्ययन गर्नेको संख्या निकै कम हुँदै गएको र भर्ना भएकाहरुले पनि बीचमै छोड्ने प्रवृति बढेको बताउनुभयो ।
जिल्लामा सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसको रुपमा एक मात्रै जयपृथ्वी बहुमुखी क्याम्पस भोपुर सञ्चालन रहेको छ । यस्तै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको रुपमा खापरदेब बहुमुखी क्याम्पस कालुखेती, सेती क्याम्पस बगडगाउँ, थलारा बहुमुखी क्याम्पस थलारा, बझाङदिप क्याम्पस झोता, सुनकुडा क्याम्पस सुनकुडा, त्रिवेणी आर्दश बहुमुखी क्याम्पस बुङ्गल र शान्ती आदर्श क्याम्पस चौघानपाटा सञ्चालनमा रहेका छन् ।
सबै जसो क्याम्पसहरुमा विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । तर सुनकुडा क्याम्पसमा भने स्नातक तहमा अध्ययन गर्नेको संख्या सन्तोषजनक नै रहेको क्याम्पस प्रमुख चक्र बहादुर ढाँटले बताउनुभयो । उहाँले भर्ना भएकाहरुले बीचमा छोड्ने प्रवृति भने बढेको बताउनुभयो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३