
धनगढी – सोमबार धनगढीमा शोभायात्रा र दीप प्रज्वलन गरिएको छ ।
आज रामको जन्मभूमि अयोध्यामा निर्माण भएको नयाँ मन्दिरमा भगवान् रामको मूर्तिको प्राण-प्रतिष्ठा गरिएको दिनका अवसरमा धनगढीमा शोभायात्रा र दीप प्रज्वलन गरिएको हो ।
विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितीको आयोजनामा आज सोमबार अपराह्न ३ बजेर ३० मिनेमा धनगढीको ट्राफिक चौराहबाट धनगढीको एलएन चोक हुँदै पार्कमोडसम्म शोभायात्रा गरिएको हो भने साझ ५ बजे पार्कमोडमा दीप प्रज्वलन गरिएको छ ।
भारतको अयोध्यामा भएको उक्त नयाँ मूर्तिको प्राण प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मानवसेवा आश्रम र ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालयबाट आज दिउँसो १२ बजेर ३० मिनेटमा ठुलो पर्दामा देखाइएको छ ।
भगवान् राम भारतमा मात्रै नभई विश्वभरिका हिन्दू सनातनीहरूका आस्थाको केन्द्रविन्दु रहेको समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन् ।

त्यस्तै विभिन्न स्थानमा आफ्नो नजिकको मन्दिरमा अवस्थित देवी-देवताहरूको भजन-कीर्तन, आरती पूजा, सामूहिक रूपमा विजय महामन्त्र “श्री राम जय राम जय जय राम” १०८ पटक जप, सामूहिक रूपमा हनुमान चालिसा पाठ र साँझ सूर्यास्तपछि आफ्नो घरको अगाडि दीप प्रज्वलन गरिएको छ ।
हजारौंको उपस्थितिमा आज धनगढीमा भएको शोभायात्रा र दीप प्रज्वलन कार्यक्रमका प्राज्ञिक विद्यार्थी परिषद्, हिन्दू स्वयंसेवक सङ्घ, ओम शान्ति परिवार , विभिन्न मठमन्दिरका पदाधिकारी र हिन्दू धर्मप्रति आस्था राख्ने जनमानसहरूको सहभागितामा सम्पन्न भएको समितिका सचिव सिद्धराज पनेरुले बताएका छन् ।
