
काठमाडौं – गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको प्रदर्शन, तोडफोड र आगजनीको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।
छानबिन समितिलाई सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्न कार्यादेश दिएको छ।
शुक्रबार बिहान ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोरियन भाषा परीक्षा (इपिएस) फारम भर्न जम्मा भएका व्यक्तिले प्रदर्शन, तोडफोड, आगजनी गर्दा प्रहरीले स्थिति नियन्त्रणमा लिनेक्रममा दुई जनाको मृत्यु भएको छ ।