
कैलाली – आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।
क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको जनाइएको छ ।
मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे परिवारलाई जानकारी गराइएको बताइएको छ ।
पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार-१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए ।
मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।
छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।