
धनगढी – बैतडीमा आज मङ्गलवार दुई जना मृत फेला परेका छन् ।
मेलौली नगरपालिका–७ ओझागाउँका ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् ।
सोमवार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने ठाउँमा सडकबाट तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपाङ्गता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
यस्तै सोमवार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडाकाे बाटोबाट तल मृत अवस्थामा फेला परेका हुन् । ऐरको शव आज बिहान फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।