
धनगढी – जाजरकोटमा भूकम्पपछि घरबासविहीन भएका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन सकेका छैनन् । कसैले एउटा त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई/दुई पटकसम्म दिएको पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले गुनासो गर्नुभएको छ ।
चिसो बढ्न थालेको छ । त्रिपालविना खुला चौरमा बसिरहेका पीडितलाई रुघाखोकी र ज्वरोले सताउन थालेको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताउनुभयो ।
प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरेको र आफूहरु थप पीडित भएको प्रभावितको गुनासो छ । भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ ।
आज बिहान परेको पानीले प्रभावितलाई थप समस्या भएको छ । भूकम्पले चिराचिरा पारेको घर ठूलो पानी परे भत्कने चिन्ता पनि थपिएको छ । गएको शुक्रवार राति जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहित १३ वटा जिल्लामा २६ हजार ५ सय ५७ घरमा पूर्णरुपमा र ३५ हजार ४ सय ५५ घरमा आंशिकरुपमा क्षति पुगेको छ । सरकारले तिहार लगत्तै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम थाल्ने तयारी गरेको छ ।