डोटीमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका- ७ दहकालिकाका करिब ५० वर्षीय काले नेपालीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार राति करिब ८ बजे खाना खाने क्रममा उनको घाँटीमा मासुको टुक्रा अड्किएपछि उनी बेहोस भएका थिए।
बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि राति करिब साढे ११ बजे राजपुरस्थित सुजङ्ग अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा जाँच गर्ने क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

