बझाङः बझाङको बुंगल नगरपालिका आज असाधारण राजनीतिक माहोलले तातेको छ । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले बुंगलमा प्रबेस गरि दहबगरबाट घरदैलो अभियान सुरु गर्न पुगेसँगै स्थानीय बासिन्दाको उत्साह देखेर समर्थकहरू नै चकित परे । बिहानैदेखि सडक, गल्ली र चौतारीहरूमा जम्मा भएको भीडले बुंगलमा चुनावी तापमान कति माथि पुगेको छ भन्ने संकेत दिएको छ ।
दहबगरबाट सुरु गरिएको घरदैलो अभियान सामान्य कार्यक्रम जस्तो देखिएन । स्थानीय युवा, महिला, ज्येष्ठ नागरिकदेखि पहिलो पटक मतदान गर्ने मतदातासम्मको बाक्लो उपस्थिति थियो । धेरैले हात मिलाउँदै, फूलमाला लगाउँदै र नाराबाजी गर्दै स्वागत गरेका दृश्यहरूले बुंगलमा महरप्रतिको समर्थन खुलेर देखिएको समर्थकहरूको दाबी छ । कतिपय स्थानमा त घरदैलो टोली अघि बढ्नै नसक्ने गरी भीड जम्मा भएको बताइएको छ ।

२०७९ सालको निर्वाचनमा झिनो ९९८ मतान्तरले पराजित भएका महर यसपटक पुनः मैदानमा छन् । त्यतिबेला तीन दलको गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेका उनले २७ हजार ४ सय १२ मत प्राप्त गरेका थिए । अहिले भने राजनीतिक समीकरण फेरिएको छ, विपक्षी मत विभाजित छ र एमाले संगठन जिल्लाभर सक्रिय देखिन्छ । यही पृष्ठभूमिमा बुंगलमा देखिएको भीडलाई एमालेले “स्पष्ट जनलहर” को संकेतका रूपमा व्याख्या गरेको छ ।
घरदैलोका क्रममा महरले स्थानीय समस्यालाई प्राथमिकताका साथ उठाएका थिए । बुंगलको सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका विषयमा जनतासँग प्रत्यक्ष संवाद गर्दै उनले संसदमा यी मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता दोहो¥याए । स्थानीय कार्यकर्ताका अनुसार दहबगरबाट सुरु भएको यो अभियान बुंगलभर फैलिनेछ । विशेषगरी युवाको उपस्थिति उल्लेख्य देखिएको थियो । सामाजिक सञ्जालमार्फत समेत महरको स्वागत र भीडका तस्बिरहरू भाइरल भइरहेका छन ्।
बुंगल नगरपालिकालाई बझाङको चुनावी परिणाममा निर्णायक क्षेत्रका रूपमा हेरिन्छ । यसअघि पनि यहाँको मत परिणामले समग्र जिल्लाको दिशा तय गर्ने गरेको थियो । त्यसैले आज देखिएको उत्साह र भीडले चुनावी समीकरणमा ठूलो सन्देश दिएको विश्लेषण भइरहेको छ ।
फागुन २१ नजिकिँदै जाँदा बझाङका विभिन्न पालिकामा चुनावी गतिविधि तीव्र भइरहेका छन् । तर बुंगलमा आज देखिएको दृश्यलाई धेरैले चुनावी शक्ति प्रदर्शन को रूपमा लिएका छन् ।

