अछाम निर्वाचन क्षेत्र नम्बर- १ को चुनाव यसकारण पनि रोचक छ, किनकि चुनाव चिन्ह सुर्यका कारण । ३४ बर्षदेखि सुर्य चिन्हबाट चुनाव लडदै आएका भीम रावल यसपटक सुर्य चिन्ह विहिन छन । युवा नेता दिपक साउँद अछामी जनताको मनमनमा गढेको सुर्य (बेल) चिन्ह सहित चुनावी मैदानमा छन । सुर्य चिन्ह लिएर दिपक चुनावी मैदानमा उत्रिएपछि अछाम- १ को चुनावी प्रतिष्पर्धाले रोचक मोड लिएको छ । सुर्य चिन्हबाट पटक पटक जितेका रावल विगतमा मालेले सुन्य सिट पाएको तारा चिन्हबाट चुनाव लडेका छन ।
अछाममा पार्टीको संगठित संरचना, युवा नेतृत्व, मध्यमवर्गीय समुदायको बलियो समर्थन र जनतासँग नजिकको सम्वन्धका कारण दिपक साउँद अछाम-१ मा सबैभन्दा प्रभावशाली र बलिया दावेदारका रूपमा उभिएका छन् । खरो र स्पष्ट वक्ता, जेनजीको भावना सम्वोधन गर्न सक्ने र युवाका सारथी दिपकका पक्षमा चुनावी माहोल तात्दै गएको छ ।
यही परिवेशमा अछामबाट पटकपटक संसदमा प्रतिनिधित्व गरिसकेका, मन्त्री तथा उपप्रधानमन्त्रीसमेत भइसकेका डा. भीम रावलमा चुनाव चिन्ह र ‘युवामा पुस्तान्तरण र रुपान्तरण’ को जबर्जस्त आवाजका कारण चुनावमा पराजयको डरमा रहेको उनि निकट नेताहरु बताउँछन्।
पछिल्ला दिनमा सार्वजनिक मञ्चहरूमा रावलले अछामका बाहुल्य जातजाति, सामाजिक एकता र जातीय विषयलाई प्राथमिकताका साथ उठाउन थालेपछि राजनीतिक वृत्तमा आलोचना पनि बढदै गएको छ ।
रोचक के छ भने, चुनावी मैदानमा रहेका दिपक साउँद (एमाले) र भरत कुमार स्वार (काँग्रेस) ले उम्मेदवारी दर्ता गरेयता जातीय विषयलाई सार्वजनिक बहसमा ल्याएका छैनन् । तर अरुले नबोलेको, नउठाएको विषय रावलले बारम्बार सार्वजनिक रूपमा किन उठाइरहेका छन् ? भन्ने प्रश्न अहिले अछाम-१ को चुनावी बहसमा प्रवेश पाएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीका अनुसार, रावल विगतका निर्वाचनहरूमा पनि मत बटुल्न विभिन्न रणनीति र प्रपञ्च प्रयोग गर्दै आएका नेता हुन् ।
भीम रावल भित्रभित्रै जातीयता, इष्टमित्र र नातागोतालाई प्रयोग गरेर भोट माग्ने, बाहुल्य समुदायलाई चुनावमा स्थान दिएको जस्तो देखाएर मत आकर्षित गर्न सिपालु रहेको जैशीको आरोप छ ।
उनका अनुसार यसपटक रावलको पार्टी संगठन कमजोर हुनु, राजनीतिक धरातल खस्किनु र त्यसै माथि दिपक साउँदजस्तो स्वच्छ छवि, स्पष्ट एजेन्डा र बलियो जनसमर्थन भएका नेता एमालेको उम्मेदवार बनेपछि रावलमा हारको मानसिकता हावि छ ।
एमाले नेताहरूको दाबी छ कि भित्रभित्रै जातीयता, भेगीयता र नातावादमा केन्द्रित राजनीति गर्दै आएका रावलले उल्टै अरु उम्मेदवारमाथि आरोप थुपार्ने प्रयास गरिरहेका छन् ।
मनोनयन दर्ताकै दिन रावलले एमालेले जातीय राजनीति गर्न खोजेको आरोप लगाएपछि एमाले अछाम जिल्ला कमिटी सदस्य तथा युवा नेता जितेन्द्र कुँवरले हुँदै नभएको विषय उठाएर समाजमा जातीय विभाजन नफैलाउन चेतावनी दिएका थिए ।
यस्तै एमाले मेल्लेख गाउँ कमिटी अध्यक्ष सुरेन्द्र साउँदले सामाजिक सञ्जालमार्फत रावल आफैं जातीय राजनीति गर्दै अरुमाथि दोष थोपर्ने उद्धत रहेको टिप्पणी गरेका थिए ।
विपक्षी दलहरूको आरोप अनुसार, रावलले उम्मेदवारी दर्ता गर्नुअघि विभिन्न पार्टी र भूमिकामा रहेका, रावलसँग नातासम्बन्ध जोडिएका व्यक्तिहरू चुनावकै बेला एकाएक भीम रावलको पार्टी प्रवेश गर्नु र गराइनुले रावलको राजनीति नातावाद र जातीय घेराभित्र सीमित रहेको संकेत गरेको छ ।
नेपाली काँग्रेसका एक नेताका अनुसार, रावल यसपटक निर्वाचनमा पराजित हुने गहिरो डरमा देखिएका छन् । “यसपटक अन्तिम पटक भन्दै मत मागिरहेका छन्,” ती नेताले भने, “अघिल्ला निर्वाचनमा उहाँसँग सिधा सम्पर्क गर्नै गाह्रो हुन्थ्यो, स्वकीय सचिवमार्फत मात्र कुरा हुन्थ्यो । अहिले भने रावल आफैं सामान्य मतदाता र नागरिकलाई फोन गर्न थालेका छन् ।”
स्थानीय तहमा भने दिपक साउँद विकास, सुशासन र समावेशी राजनीतिक एजेन्डालाई केन्द्रमा राख्दै जनतामाझ पुग्न थालेका छन् ।
जातीय विभाजनभन्दा माथि उठेर सबै समुदायलाई एकताबद्ध गर्ने उनको अभियानले अछाम-१ को चुनावी समीकरण नै फेरिने विश्लेषण हुन थालेको छ ।
साभार- पश्चिम रैबार

