धनगढी- बझाङको थलारा गाउँपालिकाको धार्मिक,प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तव्य मानिएको छडिभेल झरनाको उचाइ मापन गरिएको छ । थलारा गाउँपालिका-८ मा अवस्थित उक्त झरनाको मंगलबार गाउँपालिकाको टोलीले उचाइ मापन गरेको हो ।
पालिकाका इन्जिनियर संगीत रोकायाको टोलीले गरेको मापनले झरना उचाइ २ सय ३१.३० फिट अर्थात ७०.५ मिटर रहेको प्रमाणित भएको छ ।
विगत लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्दै आएको यस झरनाको हालसम्म आधिकारिक उचाइ पुष्टि हुन सकेको थिएन।
पर्यटकहरूले झरनाको उचाइबारे जिज्ञासा राख्दै आए पनि यकिन जानकारी नपाउँदा कौतूहलता कायमै थियो। अब गरिएको मापनसँगै झरनाको वास्तविक उचाइ सार्वजनिक भएपछि पर्यटकहरूको कौतूहलता मेटिने अपेक्षा गरिएको छ । थलारा गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समेत छडिभेल झरनासम्बन्धी विषयवस्तु समेटिएकाले र यहाँ घुम्न आउने पर्यटकले उचाइबारे बारम्बार प्रश्न गर्ने गरेकोले आधिकारिक रूपमा मापन गरिएको गाउँपालिकाले जनाएको छ।
पर्यटकहरू सो झरनामा नुहाउने, फोटो तथा भिडियो खिच्ने, वनभोज गर्ने जस्ता विविध गतिविधिमा रमाइरहेका छन्।
खप्तड राष्ट्रिय निकुञ्जको फेदीबाट बगेर आउने स्वच्छ पानीले बनेको छडिभेल झरना वरिपरि घना जंगल फैलिएको छ भने बीचभागमा कलकल बग्ने पानीले जोकोहीको मन लोभ्याउने दृश्य सिर्जना गरेको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थलमा पुग्ने प्रत्येक पर्यटक प्रकृतिसँग आत्मीय सम्बन्ध महसुस गर्छन्। झरनाको फेदीमै अवस्थित शिव मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ, जहाँ पूजा-आराधना गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।
प्रकृति र धार्मिक आस्थाको अनुपम संगमका कारण छडिभेल झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको प्रमुख आकर्षण बन्दै गएको छ। पर्यटकलाई सहज आवतजावतका लागि पालिकाले झरनासम्म सडक पुर्याएको छ ।
स्कन्द पुराणको मानस खण्डअनुसार यहाँ संख्यश शिवको वास रहेको उल्लेख छ। महाशिवरात्रिमा भक्तजनहरू शिवको पूजा गर्न यहाँ पुग्ने गर्छन्। स्थानीयहरूले बर्तबन्धजस्ता धार्मिक कार्य पनि यहीं गर्ने गरेको पाइन्छ ।

