चैनपुर- बझाङ नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम चैनपुरको खुला मञ्चमा बुधबार पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका प्रभावशाली नेता डा. भीम रावलको प्रमुख आतिथ्यतामा आयोजित सभामा खगराज भट्ट र भानुभक्त जोशीलगायत नेताहरूको उपस्थिति रहेको थियो।
सभाअघि जिल्लाका विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरूले बाजागाजासहित चैनपुर बजारमा र्याली निकालेका थिए। गत कात्तिकमा काठमाडौंमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी वाम घटकबीच एकता घोषणा भएपछि देशभर एकता सन्देश सभा आयोजना हुँदै आएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमाले नेतृत्वले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलगायत संस्थापक नेताहरूको योगदान उपेक्षा गरेको आरोप लगाए। उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यलाई निरङ्कुशतातर्फ धकेलेको दाबी गर्दै तानाशाही प्रवृत्तिका कारण एमाले छाड्न बाध्य हुनुपरेको बताए। शाहले नेपाली कम्युनिष्ट पार्टीले लोकतान्त्रिक मूल्य र सामूहिक नेतृत्वलाई पुनः स्थापित गर्ने दाबी गरे।
पार्टी नेता खगराज भट्टले राजनीतिक दल र नेतामाथि उठेका प्रश्न र आलोचनाको जवाफ दिन आफूहरू तयार रहेको बताए। जनआक्रोशलाई आत्मालोचनाका रूपमा लिएर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले सुशासन, जवाफदेहिता र जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखिने बताए।
त्यस्तै, बझाङ तथा पार्टीका प्रभावसाली नेता भानुभक्त जोशीले गणतन्त्र जनताको गाँस, बास र कपास सुधारका लागि स्थापना भए पनि अपेक्षित सुधार हुन नसकेको उल्लेख गरे। फरक सोचसहित आफूहरू नेपाली कम्युनिष्ट पार्टीमा आएको बताउँदै उनले बझाङका सडक, स्वास्थ्य, शिक्षा, सिँचाइ र पर्यटन क्षेत्रका समस्या समाधानमा सक्रिय रहने प्रतिबद्धता जनाए।
प्रमुख अतिथि डा. भीम रावलले देशभक्तहरू स्वाधीनता बचाउन एकजुट हुनुपर्नेमा जोडदिए । कार्यक्रममा बोल्दै उनलेे देशको स्वाधीनता खतरामा रहेको भन्दै बचाउन नेपाली कम्युनिष्ट पार्टी लागेको बताए । उनलेे देश र जनताको रक्षा गर्न नसक्ने पार्टीको पछि नलाग्ने र नेपाली कम्युनिष्ट पार्टीसँग जोडिन आग्रह गरे ।
त्यस्तै एमालेमा रहँदा आफूले उठाएको आवाज अहिले केही नेताहरूले उठाउन थालेको देख्दा खुसी लागेको बताए। उनले १०औँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यासको पक्षमा बोलेको कारण पार्टीबाट निकालिएको उल्लेख गर्दै ढिलै भए पनि एमालेभित्रै ओली नेतृत्वमाथि प्रश्न उठ्न थालेको टिप्पणी गरे। साथै रावलले विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा ओलीमाथि हस्तक्षेप गरेको आरोप लगाए।
कार्यक्रममा जिल्लाभरबाट हजारौंको संख्यामा नेताकार्यकर्ताको बाक्लो उपस्थित रहेको थियोे । त्यस्तै विभिन्न पार्टी परित्याग गरि ठूलो संख्यामा नेताकार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

