काठमाडौँ- बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभावका कारण नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित रहने भएको छ। शनिबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ। यी मौसमी प्रणालीका कारण देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा सामान्य बदली रहने सम्भावना छ। उक्त प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
कोशी, मधेस र बागमती प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात र केही स्थानमा भारी हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेस प्रदेशका थोरै तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र कोशी–बागमतीका हिमाली भूभागमा भारी हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।

