काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ। मन्त्री बन्न सक्ने नामबारे धेरै चर्चा भए पनि अहिलेसम्म औपचारिक टुङ्गो लागेको छैन। हाल सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीकै हातमा रहेको छ।
गएराति राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदाधिकारी तथा कूटनीतिज्ञहरू सहभागी थिए।
अघिल्ला शपथ समारोहमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरू पनि उपस्थित हुने चलन थियो भने निवर्तमान प्रधानमन्त्रीले कुर्सी हस्तान्तरण गर्ने परम्परा रहेको थियो। तर यसपटक त्यस्तो देखिएन। प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा. बाबुराम भट्टराई मात्र सहभागी हुनुभयो। राजनीतिक दलका अन्य शीर्ष नेताहरू भने अनुपस्थित रहे। तर, रास्वपा नेतृ सुमना श्रेष्ठ शपथमा उपस्थित हुनु भएको थियो।

