बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी खगेन्द्र धमलाको आगमनसँगै चरेस नियन्त्रणमा पहिलो अपरेशन सफल भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेंद्र ठगुन्नाको नेतृत्वमा खटिएको टोलीले सुर्मा गाउँपालिका–२ स्थायी ठेगाना भई जयपृथ्वी नगरपालिका–९, चिउडिखान कोठामा बस्ने ३२ वर्षीय शेरबहादुर बोहरालाई पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा शुक्रबार (२०७९ साउन २२ गते) बिहान १०:३० बजे पक्राउ परेका बोहराको झोलाभित्र लुकाइ ल्याइरहेको अवस्थामा १.६९० किलो (एक किलो छ सय नब्बे ग्राम) चरेस फेला परेको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा डिएसपी धमलाले आफ्नो कार्यकालको पहिलो अपरेशनमै सफलता मिलेको र जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे।
उनी पछिल्लो समय फुर्तिलो रुपमा जिल्लाका विभिन्न स्थानमा स्वयं उपस्थित हुने गरेका छन्। समुदाय–प्रहरी साझेदारीमा आधारित कार्यक्रममार्फत गाउँ सुधार र समाज रुपान्तरणमा सबैको सहभागिता आवश्यक रहेको उनले बताए।

