डोटी- डोटीका किसान किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले सुरु गरिएको खेतीबाट फल नलागेपछि चिन्तित भएका छन्। करिब चार वर्ष लगानी गरेपछि उत्पादन हुने अपेक्षा गरेका किसानहरू अहिले निराश भएका हुन्।
बडिकेदार गाउँपालिका–४ रनुकाँडाका लक्ष्मण ताडीले पाँच रोपनी क्षेत्रमा किबीखेती सुरु गरेका थिए। तर फल नलागेपछि मेहनत र लगानी दुवै खेर जाने अवस्थामा पुगेको उनको गुनासो छ। उनले उदयसिंह कृषि तथा बहुउद्देश्यीय फार्ममार्फत किबीसँगै अन्य तरकारी खेती पनि गरिरहेका छन्।
उनका अनुसार चार वर्ष लगातार लगानी गर्दा पनि किबी बोटहरूले फल दिन नसक्नु ठूलो समस्या बनिरहेको छ। कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीका अनुसार किबीमा भाले र पोथी बोट छुट्टै हुने भएकाले कम्तीमा पाँच बोटमा एक भालेबोट अनिवार्य हुन्छ। धेरै किसानले भालेबोट रोप्न छुटाएकोले फल नलाग्ने समस्या देखिएको हो।
उनले यस्तो समस्याको समाधान ‘टपवर्किङ’ विधिबाट गर्न सकिने बताए। कृषि ज्ञान केन्द्रका अनुसार हाल डोटी जिल्लामा एक हजारभन्दा बढी किबीका बोट लगाइएका छन्। यद्यपि खेती गर्नेको संख्या कम भए पनि पछिल्लो समय किबीखेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ।

