बझाङ– जिल्लाको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८१ / ८२ को आर्थिक प्रगति विवरण सार्वजनिक गरेको छ । असार २५ सम्मको तथ्यांक सार्वजनिक गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा जम्मा बजेटको ८७ दशमलब १६ प्रतिशत रकम खर्च भएको जानकारी दिएको हो।
गाउँपालिकाका अनुसार चालु तथा पूँजीगत खर्चसम्बन्धी सबै विवरण संकलन गरी सार्वजनिक गरिएको हो । प्रकाशित विवरणअनुसार चालु खर्चतर्फ विनियोजित ४४ करोड २२ लाख ९९ हजार ६ सय ७९ रुपैयाँ २७ पैसामध्ये ३७ करोड ६९ लाख ८ हजार २८४ रुपैयाँ ७१ पैसा खर्च भएको छ, जुन कुल चालु खर्चको ८५ दशमलब २२ प्रतिशत हो ।
यस्तै, पूँजीगत खर्चतर्फ २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएकोमा २० करोड ५४ लाख ५ हजार ८ सय ९४ रुपैयाँ ६ पैसा खर्च गरिएको जनाइएको छ, जुन ९०.९९ प्रतिशत खर्च प्रगति हो । पालिकाले चालु आर्थिक वर्षमा ६६ करोड ८० लाख ५३ हजार ६ सय ७९ रुपैयाँ २७ पैसा बिनियोजन गरेको थियो । सो बजेटमध्ये ५८ करोड २३ लाख १४ हजार ७८ रुपैयाँ ७७ पैसा, जुन ८७ दशमलब १६ प्रतिशत हुन आउँछ ।
सार्वजनिक विवरण अनुसार बजेट र खर्च यस्तो छ

सूचनामा भनिएको छ, “वार्षिक नीति तथा कार्यक्रम र बजेट अनुसारका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीहरूको सहकार्य आवश्यक छ।”
वित्तीय विवरण लेखापाल कालुराम चौधरी र प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टद्वारा हस्ताक्षर गरी सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले आर्थिक विवरण सार्वजनिक गर्नु केदारस्यूँको सुशासनप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए। उनले भने “हामीले जनप्रतिनिधि भएर जनताको विश्वास जित्न पारदर्शी शासन प्रणालीलाई आधार बनाएका छौँ। आर्थिक वर्ष २०८१/८२ मा पारदर्शी ढंगले बजेट खर्च गर्दै त्यसको लेखाजोखा सार्वजनिक गरिनुले नागरिक उत्तरदायित्वलाई अझ बलियो बनाउनेछ।”
स्थानीय सरकारहरूले आर्थिक पारदर्शिता, समावेशी विकास र नागरिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धता सुशासनको मूल मर्म हो।

