बझाङ- जिल्लाको छबिसपाथिभेरा गाउँपालिका- ७ का १५ जना महिलालाई अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम प्रदान गरिएको छ । सीप सिकौं , आत्मनिर्भर बनौं भन्ने नारा सहित जेठ ७ गतेदेखि असार २२ गतेसम्म ४५ दिन महिलाहरूलाई दक्ष प्रशिक्षकबाट सो तालिम प्रदान गरिएको हो ।
नेपाल सरकार घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सशक्त अनुदान र गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमको उद्देश्य स्थानीय स्रोत र कच्चा पदार्थको उचित सदुपयोग गर्दै आयमूलक कार्यमा स्थानीयलाई दक्ष बनाउने रहेको छ।
तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई अल्लोको छाला निकाल्ने, धागो बनाउने, र त्यसबाट कपडा तथा विविध हस्तकलाका सामग्री तयार गर्ने सीप प्रदान गरिएको वडाध्यक्ष बिजय बहादुर धामीले जानकारी दिए ।
स्थानीय बासिन्दाहरूले यस्तो खालको सीपमूलक तालिमले दीर्घकालीन रुपमा रोजगारी र आर्थिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

