काठमाडौं- स्थानीय वायु प्रणालीको प्रभावले देशका केही भागमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
रातिको मौसमतर्फ, कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आकाश मुख्यतः खुल्ला रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

