धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्रीमती अन्दाजी ६० वर्षीया दुर्का साउँद भालुको आक्रमणबाट घाइते भएका छन् ।
गाउँ बाट एक घण्टाको दुरीमा रहेको सौडीखेत स्थित खर्क(गोठ) मा सोमबार राति उनीहरूलाई भालुले आक्रमण गरेको वडाध्यक्ष दीपक बहादुर साउँदले जानकारी दिए ।
घटना स्थलमा अन्य कोही नहुँदा घटनाको बारेमा मंगलबार बिहान मात्र थाहा भएको पारिवारिक स्रोतले जनाएको छ । गाई गोरुको हेरचाह गर्न बिहान छिमेकी गोठवाला सो ठाउँमा गएपछि मात्रै साउद दम्पती घाइते अवस्थामा फेला परेका हुन्।
भालुको आक्रमणबाट घाइते दुवै जनाको अनुहार र शरीर भरि घाउ छन् । अहिले उनीहरूलाई उपचारको लागि सिलगढी ल्याइँदै गरेको स्थानीयले जानकारी दिएका छन् ।

