दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त अवधिमा मनसुनी गतिविधि थप सक्रिय हुने, देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।
प्रशासनका अनुसार दार्चुलाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू-कटान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न, विशेष गरी रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। साथै नदी, खोला, खहरे, भीरपाखा तथा बाढी–पहिरोको उच्च जोखिम भएका क्षेत्रमा नजान पनि सचेत गराइएको छ।
नदी तथा खोलानजिक र भीरमुनि रहेका बस्तीका बासिन्दालाई वर्षा भइरहेका बेला विशेष सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न तयारी अवस्थामा रहन भनिएको छ।
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकसहित सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सम्भावित सडक अवरोध तत्काल हटाउन डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ।
प्रशासनले कुनै पनि विपद् वा आपत्कालीन अवस्था देखिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन तथा अफवाहमा विश्वास नगरी आधिकारिक सूचनालाई मात्र आधार बनाउन सबैमा अनुरोध गरेको छ।

