अछाम- नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. भीम रावललाई चुनाव नजिकिँदै जाँदा दिनप्रतिदिन धक्का लागिरहेको छ। प्रतिनिधि सभा निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा पार्टी परित्याग गर्नेको संख्या बढ्दै गएको हो।
बुधबार रामारोशन गाउँपालिका-६ भटाकाटीया बाट ९२ जना नेकपा एमालेमा समाहित भएका थिए। त्यसको भोलिपल्ट आज पुनः रामारोशन गाउँपालिका-५ चौका मा आयोजित चुनावी आमसभामा विभिन्न पार्टी परित्याग गर्दै थप १०४ जना एमालेमा प्रवेश गरेको पालिका पार्टी कमिटी अध्यक्ष भीष्म साउँदले जानकारी दिए।
उनका अनुसार नेपाली काँग्रेसबाट २२ जना, अन्य स्थानबाट ४ जना, भटाकाटीयाबाट ३ जना पूर्व जनमुक्ति सेना सदस्यसहित विभिन्न पृष्ठभूमिका व्यक्तिहरू एमालेमा समाहित भएका हुन्।
प्रवेश गर्नेहरूमा पूर्व जनमुक्ति सेना कमान्डर कम्मानसिंह साउँद (जोसिला), सागर साउँद, नेपाली काँग्रेस जिल्ला सदस्य रिनारी दमाई, राजेन्द्र कठायत, लालबहादुर साउँद, शेरबहादुर साउँद, झङ्के टमटा तथा कमला चलाउने साउँदलगायत रहेका छन्।
नवप्रवेशीहरूलाई एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज झपड बोहरा, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदलगायत नेताहरूले स्वागत गरेका थिए।
एमाले नेताहरूले पार्टी प्रवेशको यो क्रमले आगामी निर्वाचनमा आफूहरूलाई थप उत्साह र मजबुती मिलेको दाबी गरेका छन्।
त्यस्तै मेल्लेख गाउँपालिका-६ तोलिसैन, नगाने र कालापातल टोलबाट ८५ जना एमालेमा प्रवेश गरेका छन् ।
जिल्ला कमिटी सदस्य वीर बहादुर बोहराका अनुसार तोलिसैनबाट जंग बोहरा सहित ३५ जना , नगानेबाट भारमल कठाय सहित ४९ जना र कालपातलबाट एकेन्द्र बहादुर बोहरा एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरू नेपाली कम्युनिष्ट पार्टी र काँग्रेस परित्याग गर्दै एमालेमा समाहित भएका हुन् ।
आज मात्रै विभिन्न ठाउँबाट १ सय ८९ जना एमालेमा समाहित भएका छन्
चुनावको मुखमै भएको यो प्रवेशले स्थानीय राजनीतिक समीकरणमा उल्लेख्य प्रभाव पार्ने विश्लेषण गरिएको छ।
चुनावी प्रतिस्पर्धा चर्किँदै गइरहेका बेला भएको यस घटनालाई क्षेत्रीय राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
समग्रमा हेर्दा, ठूलो संख्यामा कार्यकर्ता प्रवेश, गाउँ–टोल तहसम्म संगठन विस्तार, नेतृत्वको सक्रियता र चुनाव नजिकिँदै जाँदा देखिएको समर्थनको लहरलाई एमाले पक्षले आफ्नो जितको मुख्य आधार मानेको छ।

