अछाम- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार दिपक साउँदले आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त बनेको मन्दिरको स्थलगत निरीक्षण गरेका छन्। अछाम क्षेत्र नं-१ का नेकपा एमालेका उम्मेदवार साउँद घरदैलो तथा मतदातासँग भेटघाटका क्रममा मेल्लेख गाउँपालिका- ५ रोकाया गाउँ, महरबाडामा रहेको मष्टा बण्डाली मन्दिर (माणु) पुगेर क्षतिको अवस्थाबारे जानकारी लिएका हुन्।
स्थानीयका अनुसार फागुन २ गते अज्ञात व्यक्तिले आगो लगाउँदा खरले छाएको उक्त मन्दिर पूर्णरूपमा जलेर नष्ट भएको थियो। आगलागीबाट मन्दिरभित्र रहेका धार्मिक सामग्री, प्राचीन तथा पुरातात्त्विक महत्वका वस्तु र देवद्रव्यसमेत जलेर नष्ट भएको स्थानीय मीन महरले जानकारी दिए।
चुनावी आमसभा सम्बोधनका लागि मेल्लेख पुगेका साउँदले मन्दिर निरीक्षणपछि आगजनी जस्तो कार्य निन्दनीय र गलत भएको बताए। “धार्मिक आस्थामाथि प्रहार गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन। मन्दिर पुनःनिर्माणका लागि आवश्यक पहल गर्नेछु,” उनले प्रतिबद्धता व्यक्त गरे। साथै धार्मिक स्थलहरूको संरक्षण, विकास र प्रचारप्रसारलाई प्राथमिकतामा राख्ने आफ्नो योजना रहेको दाबी गरे।
निरीक्षण कार्यक्रममा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसी सहित एमालेका अन्य नेताकार्यकर्ता तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
आगलागीबाट ऐतिहासिक तथा धार्मिक धरोहर गुमेपछि स्थानीयवासी पुनर्निर्माण र दोषीमाथि कारबाहीको माग गरिरहेका छन्। उम्मेदवार साउँदको निरीक्षण र पुनर्निर्माणका लागि पहल गर्नेभनेपछि पीडित समुदायमा आशा जागेको स्थानीयको भनाइ छ।

