रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ पबेरामा अवस्थित बोन्ड स्कुल बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा १८औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारी राम चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि कैलारी गाउँपालिका वडा नम्बर- १ का वडा सदस्य किसुन लाल चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिमा दिपेन्द्र उच्च माध्यमिक विद्यालय, हसुलियाका प्रधानाध्यापक विनोद भट्टराई सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रअ भट्टराईले निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धात्मक वातावरण सृजना गर्दै कैलारी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बोन्ड स्कुल बोर्डिङ स्कुललाई बधाई दिँदै आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस अवसरमा कैलारी गाउँपालिका स्तरीय बोर्डिङ एसोसिएसनको खेलकुद प्रतियोगितामा विभिन्न विधामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल भएका विद्यालयलाई सम्मान गरिएको थियो।
त्यसैगरी, कक्षा ८ को गाउँपालिका स्तरीय बोर्ड परीक्षामा ३.९० जीपीए सहित टप गर्न सफल छात्रा आरजु बोहरालाई नगद ५ हजार ५ सय ५५ प्रदान गरिएको थियो। साथै, २०८१ सालको एसइई परीक्षामा ३.८३ जीपीए ल्याई गाउँपालिका स्तरमै उत्कृष्ट अंक प्राप्त गर्न सफल युवराज ढुंगानालाई नगद र ११ हजार १ सय ११ हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बिरेन्द्र धामीले गर्नुभएको थियो। कार्यक्रममा थारु राष्ट्रिय कलाकार तथा पत्रकार राजु चौधरी ‘राज’ र राष्ट्रिय पहुरा दैनिकका पत्रकार तथा सम्पादक प्रेम दहितको समेत उपस्थिति रहेको थियो।
उत्सवका क्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्य तथा सांस्कृतिक कार्यक्रमले माहोल अझै उत्साहपूर्ण बनाएको थियो।
वि.सं. २०६४ सालदेखि शैक्षिक सेवा दिँदै आएको बोन्ड स्कुल बोर्डिङ स्कुल कैलारी गाउँपालिकामा सामुदायिक तथा निजी विद्यालयमध्ये निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयको रूपमा परिचित छ।

