काठमाडौं। नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं ल्याउने तयारी गरेको छ। संघका अध्यक्ष क्षितिज थेबेका अनुसार मंसिर २७ गते उद्घाटन सभामा युवाको सहभागिता बढाउन विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरू सक्रिय छन्।
उनका अनुसार, उपत्यकाका ६१ वडाबाट ६,१००, अन्य १९ पालिकाबाट १९,०००, बागमती बाहिरका १० जिल्लाबाट १५,०००, कोशी र मधेस प्रदेशबाट हरेकबाट ४,०००, गण्डकी ३,०००, लुम्बिनी २,००० तथा कर्णाली र सुदूरपश्चिमबाट ५ सय जना गरी कुल ५० हजार युवा सहभागी हुने लक्ष्य राखिएको छ।
थेबे भन्छन्, “हामी टाउको गनेर नै ५० हजार युवालाई कार्यक्रम स्थलमा ल्याउने छौँ। यसका लागि हाम्रो सबै कमिटी परिचालित छन्।”
एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गते काठमाडौंमा हुँदैछ।

