बझाङ- केदारस्यूँ गाउँपालिका-१ देउराबासीले इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
एकपटक इलाका प्रशासन कार्यालय देउरा भनेर परिपत्र आएको तर अहिले हुकुमी शैलीमा केदारस्यूँ गाउँपालिका-९ झोता सारिएको भन्दै गाउँपालिका मार्फत ज्ञापनपत्र बुझाएका हुन् । आइतबार संयुक्तरूपमा देउराबासीले सरकारले कार्यालय स्थापना हुने सेवा क्षेत्रमा विवाद हुँदाहुँदै कुनैपनि छलफल तथा सहमति नगरि हुकुमी शैलीमा झोता तोकेको प्रति कडा आपत्ति जनाएका छन् ।
कार्यालय स्थानान्तरणको प्रक्रिया पूर्ण रूपमा एकल निर्णय, पक्षपातपूर्ण चलखेल र राजनीतिक स्वार्थका आधारमा गरिएको आरोप उनीहरूले लगाएका छन्। यहीँ ३ गते इलाका प्रशासन कार्यालय झोतामा स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ ।
त्यस्तै आजै उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई पनि ज्ञापनपत्र कार्यक्रम तय गरेका छन् । देउरा सबैको पायक पर्ने तथा आवश्यक मापदण्ड पूरा भएको ठाउँ भएकाले देउरामै इलाका प्रशासन कार्यालय हुनुपर्ने माग अघि सारिएको छ । ज्ञापनपत्रको सुनुवाइ नभए संघर्षका कार्यक्रम अघि सारिने समेत चेतावनी दिइएको छ ।

यता केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले ज्ञापनपत्र बुझ्दै उक्त पत्र सम्बन्धित निकायमा पुर्याउने बताए । उनलेे जनप्रतिनिधिमाथि क्षेत्र तोकिएको भन्ने आरोप लागेको प्रति त्यसो नभएको जानकारी दिए । म र हाम्रो कार्यापालिकाबाट ठाउँ तोक्ने कार्य भएको छैन, कतिपय त्यस्तो आरोप लगाएका रहेको छन् , त्यो केदारस्यूँ गाउँपालिकाले क्षेत्र तोक्न मिल्दैन त्यस्तो कार्य भए गरेको छैन
जहाँ भएपनि केदारस्यूँ गाउँपालिकामै हुने भएकोले आफ्नो कुनै पनि संलग्नता नभएको समेत अध्यक्ष बोहराले स्पष्ट पारे ।

