बझाङ- बझाङको झोतामा इलाका प्रशासन कार्यालय स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । भौगोलिक कठिनाई र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न केदारस्यूँ गाउँपालिका ९ झोता वा वडा नं १ देउरामा इलाका प्रशासन कार्यालय स्थापनाको लागी लामो समय देखि माग हुँदै आएकोमा गत भाद्रमा सरकारले कार्यालय स्थापनाको लागि पक्रिया अगाडी बढाएको थियो ।
सोही अनुसार मंसिर ३ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार बझाङ क्षेत्र नं २ को झोतामा इलाका प्रशासन कार्यालय स्थानपनाको लागि अर्थ मन्त्रालयले स्वकृति दिएको हो । मन्त्रालयले बझाङको झोतासहित अन्य १० वटा इलाका प्रशासन कार्यालय स्थापनाको स्वकृति छ ।
झोतामा इलाका प्रशासन कार्यालय स्थापना भएपछि जिल्लाको बुङ्गल नगरपालिका, बित्थडचिर गाउँपालिका, केदारस्यूँ गाउँपालिका, दुर्गाथलि गाउँपालिका र थलारा गाउँपालिकाका नागरीकहरुलाई सेवा लिन सहज हुने छ ।
गृह मन्त्रालयले २०७४ को कार्यविभाजन नियमावली र निजामती सेवा ऐन बमोजिम गृह मन्त्रालय तथा मातहतका निकायहरुको संगठन पुनरावलोकन गरी, मन्त्रालयकै दरबन्दीभित्र मिलाएर नयाँ कार्यालय स्थापना गर्ने प्रस्ताव अघि बढाएको हो ।
तर यता केदारस्यूँ गाउँपालिका १ देउराबासी लगायत अर्थ मन्त्रालयको सहमति प्रति आक्रोशित भएका छन् । एकचोटी देउरामा इलाका प्रशासन कार्यालय स्थापनाको नाम आएको र अहिले अन्यन्त्र सारिएको भन्दै आक्रोशित भएका हुन् । ५ गते उक्त निर्णय प्रति देउरा बजारमा राकेजुलुस समेत निकालिएको थियो । त्यस्तै बित्थडचिर बुङ्गल र केदास्यूँका अधिकांश उक्त निर्णयका बिरुद्ध संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारीमा छन् । देउरा सबैको लागि उपयुक्त ठाउँ हो , एकचोटि गृह मन्त्रालयले पनि देउरा ताेकेकाे छ , अहिले एकाएक अन्यत्र सार्दा आफूले बिरोधमा उत्रिनु परेको उनीहरूको भनाइ छ ।


