काठमाडौँ- काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम झरेर ७.८ डिग्री सेल्सियस पुगेको छ। हिजोको तुलनामा आज उपत्यकामा चिसो अझै बढेको मौसमविद्हरूले बताएका छन्। हिजो उपत्यकाको तापक्रम ८.५ डिग्री सेल्सियस थियो।
पौने ६ बजेको मापनअनुसार तापक्रम झनै घटेकाे र काठमाडौँसहित देशभर चिसाे बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले चिसो क्रमिक रूपमा बढ्ने संकेत देखिएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ।
डाक्टरहरूका अनुसार बढ्दो चिसोजन्य कारण रुघाखोकी, निमोनिया, ज्वरो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुन सक्छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीले विशेष सतर्कता अपनाउनुपर्ने बताइन्छ।
न्यानो हुनेगरी कपडा लगाउने, तातो झोलिलाे खानेकुरा खानेजस्ता सावधानी अपनाउन चिकित्सकहरूको सुझाव छ।
अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले बताएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ भने बाँकी ठाउँमा मौसम सामान्य रूपमा सफा रहेको छ।

