काठमाडौँ- अहिले देशमा कुनै ठूलो मौसमी प्रणाली सक्रिय नरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल पहाडी र हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। आज गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो पनि पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल रहने, तर अन्य भूभागमा मौसम खुला रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई ठाउँमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफै रहने महाशाखाले जनाएको छ।

