बझाङ –आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत बझाङमा ५ सय ४२ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार नयाँ दर्तामध्ये ३ सय ६३ पुरुष र १ सय ७९ महिला रहेका छन्।
असोज १० देखि कात्तिक १७ गतेसम्म चलेको दर्ता तथा अद्यावधिक अभियानमा सुदूरपश्चिमका अन्य जिल्लामा जस्तै बझाङमा पनि मतदाता दर्ताका लागि उत्साहजनक सहभागिता देखिएको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालय बझाङका निमित्त प्रमुख श्याम खड्काका अनुसार मतदाता नामावली अद्यावधिकका लागि कार्यालयहरू बेलुका ६ बजेसम्म खुला राखिएको छ। कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य निरन्तर जारी रहनेछ।

