त्यसरी अगाडि नबढ्ने हो भने अराजकता र दुर्घटना निम्तिन सक्ने उनले चेतावनी दिए । ‘कुनै वितण्डा नगरौँ । हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनस्र्थापनाको कुरा उठाउनुजस्तो हास्यास्पद अरू केही हुँदैन । निर्वाचन सफल पार्नका लागि म आग्रह गर्न चाहन्छु,’ उनले भने ।
राष्ट्रिय सहमतिका साथ अगाडि बढ्दा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने प्रचण्डले बताए । अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल पार्न भूमिका खेल्ने उनले बताए । ‘संविधान ट्र्याकमा ल्याउने र संविधान संशोधनको विकल्पमा जाने विकल्प पनि यही हो । राष्ट्रिय सहमतिको आधारमा निर्वाचन सम्पन्न गर्न अपिल गर्न चाहन्छु,’ उनले भने ।
बृहत् वामपन्थी एकताको आवश्यकता प्रचण्डले औँल्याए । प्रचण्डले नेतृत्व छाड्न आफू तयार रहेको बताए । ‘कतिपय मानिसले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्नुपर्छ तयार छु । देश बच्न पर्यो, हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा परिणत गरिसकेको छु,’ उनले भने, ‘म सबैलाई राष्ट्रका निम्ति त्याग गर्न तयार रहन अपिल गर्छु ।’
भ्रष्टाचार अन्त्य, सुशासन, कार्यकारी प्रमुख र आर्थिक समृद्धिका लागि जेन–जी पुस्तासँग सहकार्य गरेर अगाडि बढ्न माओवादी तयार रहेको उनले बताए । ‘भ्रष्टाचार अन्त्य र सुशासनका निम्ति, कार्यकारी प्रमुख र आर्थिक समृद्धिका लागि बसेर सल्लाह गरौँ । एउटा रोडम्याप बनाऔँ,’ उनले भने । जेन–जीले २३ भदौको आन्दोलनबाट राजनीतिमा प्रवेश गरेको उनले बताए ।

