बझाङ- बझाङको थलारा गाउँपालिका- ६ सेरालागाउँमा अटो दुर्घटना हुँदा दुई महिला घाइते भएका छन्।
दुर्गाथलि गाउँपालिकाको झनानाबाट थलारा गाउँपालिकाको खोलीतर्फ गइरहेको सुप–०१–००१ ह ६०१८ नम्बरको अटो शुक्रबार कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परि थलारा गाउँपालिका- ५ खोलीकी ३५ वर्षीया चन्द्रकला बादी गम्भीर र अमृता बादी सामान्य घाइते भएको बताइएको छ । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
चन्द्रकला बादीको दुबै खुट्टा र बायाँ हातमा, तथा अमृता बादीको दायाँ हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि अटो चालक दुर्गाथली- १ जुजीका प्रकाश खातीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

