नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ।
आज ओमनमा सम्पन्न अन्तिम खेलमा नेपालले सामोआलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
नेपाल शीर्ष स्थानमा रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको छ। ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल बनायो। नेपालका लागि आसिफ शेखले ४१ बलमा ६९ रन र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन र लोकेश बमले १२ बलमा ३९ रन अविजित रहँदै टीमको योगफल बढाए।
२१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो। सामोआका सेन सोलियाले सर्वाधिक ४० रन बनाए।
बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक–एक विकेट लिए।
यस जितसँगै नेपालले एसिया–ईस्ट एसिया प्यासिफिक छनोटमा अपराजित रहँदै गौरवपूर्ण उपाधि हात पारेको छ।

