बझाङ- जिल्लाको मष्टा गाउँपालिकाको कार्यालयमा जेन–जी समूहले अनिश्चितकालीन तालाबन्दी गरेको छ। मष्टा गाउँपालिका–१ का जेन–जी समूहका सदस्यहरूले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्।
समूहका संयोजक हिमाल खड्काका अनुसार गाउँपालिकासँग राखिएका मागहरूको सुनुवाइ नहुँदा तालाबन्दी गर्न बाध्य भएको हो। उनका भनाइमा, मष्टा–१ का स्थानीय समस्याहरू समाधान गर्न पटक–पटक गाउँपालिकामा गए पनि सम्बन्धित निकायले वेवास्ता गरेकाले अन्ततः तालाबन्दी गरिएको हो।
खड्काले मागहरू पूरा नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन्। समूहले वडामा खानेपानी र सडक सुधार, पातलगडामा पुल निर्माण, विद्युत् आपूर्तिको सुनिश्चितता, सहकारीमार्फत हिनामिना भएको रकम फिर्ता गरी दोषीमाथि कारबाही गर्नुपर्ने तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने माग राखेको जनाएको छ।
यस्तै थलारा गाउँपालिकामा गत मंगलबार लगाइएको ताला अहिलेसम्म खुल्न सकेको छैन । ठिङ्गलेख तराटी सडिल पिखेत झनाना सडक खण्ड निकासिको माग राख्दै ताला लगाएका थिए । हप्ता दिन बितिसक्दा समेत कार्यालयमा लगाइएको ताला नखुल्दा सेवाग्राही समस्या परेका छन् । सडकको निकासा नभएसम्म ताला नखोल्ने अडान युवाहरूको छ ।

