आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्स चरणको तेस्रो खेलमा नेपाल आज (बुधबार) ओमानसँग भिड्दै छ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ।
नेपालले आजको खेल जिते अपराजित रहँदै एक खेल अगावै आगामी टी–२० विश्वकपका लागि छनोट हुनेछ। सुपर सिक्समा अहिले नेपाल र ओमान मात्र अपराजित टोली हुन्। त्यसैले आज रातिको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
ओमानका लागि पनि यो खेल समान रूपमा महत्वपूर्ण छ, किनभने नेपाललाई पराजित गर्न सकेमा ओमान अपराजित रहँदै सिधै विश्वकपमा पुग्नेछ।
नेपालले आजको खेल हार्ने हो भने विश्वकपमा स्थान बनाउन शुक्रबार हुने सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई हराउनुपर्नेछ।
सुपर सिक्समा तीन खेलबाट नेपाल र ओमान दुवैको समान ६ अंक छ। तर नेट रनरेटका आधारमा ओमान शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहेको छ।
समान दुई–दुई अंकसहित यूएई तेस्रो र जापान चौथो स्थानमा छन्। विश्वकप छनोटका लागि अहिले यूएई र जापानबीच पनि प्रतिस्पर्धा चलिरहेको छ।
आजै हुने पहिलो खेलमा जापान र कतार भिड्दै छन् भने यूएईले सामोआसँग प्रतिस्पर्धा गर्नेछ।
सुपर सिक्समा नेपालले यूएईविरुद्ध १ रनको रोमाञ्चक जित निकाल्दै दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो। समूह चरणमा नेपालले जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले पराजित गरेको थियो।
ओमानले सुपर सिक्समा यूएईलाई ५ विकेट र कतारलाई ३४ रनले हराएको थियो।

