जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (असोज २८ गते) प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन्।
गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेशसभाका सभामुखलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि बैठकको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए। सोही अनुरोधका आधारमा आजको बैठक बोलाइएको प्रदेशसभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए।
भदौ २३ र २४ गते जेनजी आन्दोलन चर्किएको बेला सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए। तर, पछि उनले आफ्नो निर्णय परिवर्तन गर्दै “त्यो बेला विषम परिस्थितिमा जनधनको क्षति नहोस्” भन्ने उद्देश्यले फेसबुकमार्फत राजीनामा दिएको स्पष्ट गरेका थिए।
तर, सिंहको बोली फेरेपछि उनको दल जनमत पार्टीले भदौ ३१ गते प्रदेशसभामा सभामुखलाई सम्बोधन गरी मुख्यमन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो। सो मितिबाट ३० दिनभित्र सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान लागू भएको हो।

