विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम आज पनि जारी छ। नेपालीहरूले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व धूमधामका साथ मनाउने गर्छन्। यस अवधिमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति पर्ने भएकाले सोही दिनसम्म टीका–जमरा लगाउने क्रम निरन्तर रहनेछ।
नजिकका आफन्त वा परिवारका सदस्य काम विशेषले टाढा भएकाले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न जाने चलन पनि रहँदै आएको छ। विजया दशमीलाई असत्यमाथि सत्यको विजयका प्रतीकका रूपमा मनाइन्छ।

