बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना हुँदैछ।
धर्मग्रन्थअनुसार, देवी चन्द्रघण्टाको हातमा चन्द्रमा अंकित घण्टा हुने भएकाले उनी ‘चन्द्रघण्टा’ नामले चिनिन्छिन्। उनको स्वरूप पहेंलो वर्णको हुन्छ र शान्त, करुणामयी तथा शक्तिशाली मानिन्छ। अत्याचारी र दानवीय प्रवृत्तिको नाश गर्ने देवीको रुपमा पनि उनी वर्णन गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार, चन्द्रघण्टा देवीको आराधनाले भक्तजनले अपार शक्ति प्राप्त गर्ने विश्वास छ। त्यस्तै, वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले देवीको कृपाले पाप नाश हुने, आत्मबल र तेज बढ्ने बताउनुभयो। विशेषगरी गीत–संगीत क्षेत्रमा लागेकाहरू देवी चन्द्रघण्टाको विशेष पूजा गर्ने प्रचलन छ।
नवरात्रको पहिलो दिन घटस्थापना गर्दै शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। आज तेस्रो दिन भक्तजनले चन्द्रघण्टा देवीलाई निष्ठापूर्वक पूजा–आराधना गरेका छन्।
नवरात्रभर पूजा स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठ गरिन्छ। नवरात्रको अन्त्यसम्म पूजा–आराधना गर्नेहरूले शक्ति, ऐश्वर्य र विद्या प्राप्त गर्ने विश्वास छ।
नवरात्रमा नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यिनै नौ रूपलाई नवदुर्गा भनिन्छ।
देशभरका शक्तिपीठहरूमा आज विशेष भीड देखिएको छ। दसैंका अतिरिक्त बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष आराधना गर्ने चलन भएकाले यी दिन पनि मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।

