काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर सामान्यतया बदली रहेको छ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका बाँकी भूभागमा आंशिक बदली हुनेछ। ती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

