काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छिन्। यससँगै उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीसमेत बनेकी छन्। यसअघि देशको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी कार्कीले अब प्रधानमन्त्रीको रूपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेकी हुन्।
शुक्रबार राति ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराउने तयारी रहेको छ। शपथसँगै प्रतिनिधिसभा विघटन गर्ने सहमति पनि बनेको शीतल निवास स्रोतले जनाएको छ।
जेनजी आन्दोलनले एमाले–कांग्रेस गठबन्धनको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएपछि अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको हो। भदौ २३ गते आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ युवाको मृत्यु भएपछि २४ गते देशभर प्रदर्शन, आगजनी र तोडफोड भएका थिए। त्यसलगत्तै ओलीले पदत्याग गरेका थिए।
ओलीको राजीनामापछि भएको सर्वदलीय छलफलमा संसद् विघटन र आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने गरी कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति जुटाइएको हो। राजनीतिक दलका नेताहरू संसद् विघटनबारे असहमत देखिए पनि आन्दोलनको चर्को दबाबका कारण अन्ततः शपथ र संसद् विघटन करिब सँगसँगै सम्पन्न गरिएको स्रोतले जनाएको छ।

