काठमाडौँ-मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सामान्य दक्षिणतर्फ सरिएको छ भने पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।
यसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली भएको छ। अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस र देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ भने अन्य पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले भारी वर्षाको सम्भावना रहेका प्रदेशका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

