काठमाडौँ- सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका ‘जेन जी’ पुस्तामाथि प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् ।
अस्पतालहरूको विवरणअनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ । त्यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसी अस्पतालमा २ जनाको ज्यान गएको हो । यसैगरी सुनसरीको इटहरीमा गोली लागेर २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
घटनामा परी काठमाडौं र इटहरीका विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । गम्भीर घाइतेमध्ये धेरैको टाउको र छातीमा गोली लागेको बताइएको छ ।
सन् १९९७ देखि २०१२ बीच जन्मेका युवाहरूलाई ‘जेन जी’ पुस्ता भनिन्छ । इन्टरनेट र विश्वव्यापीकरणसँगै हुर्किएको यो पुस्ता लामो समयदेखि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्दै आएको थियो । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरू सडकमा उत्रिएका थिए । तर प्रदर्शनको पहिलो दिनमै प्रहरीले गोली प्रहार गरेको भन्दै व्यापक विरोध भइरहेको छ ।

