काठमाडौं- आज देशका पहाडी भू–भागमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ। तराई भू–भागका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पछिल्लो १२ घण्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए।
आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाड तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

