काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिक रहेकाले देशभर मनसुनी गतिविधि बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको असरले मनसुन अझ सक्रिय हुने देखिएको हो।
यसको प्रभावस्वरूप आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने र गण्डकीका पहाडी भूभागमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ। साथै, मधेस, कोशी र लुम्बिनी प्रदेशको तराईमा हावाहुरीको जोखिम पनि रहेको छ।
बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा भारी वर्षा हुनसक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

