काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी देखिएको छ।
शरीरमा केही परिवर्तन देखिएपछि सोमबार नख्खु कारागारमै ट्रमा चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्य परीक्षणपछि रगतको नमूना प्रयोगशालामा पठाइएको र प्राप्त रिपोर्टअनुसार भिटामिन डीको कमी रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
प्रवक्ता झाका अनुसार डा. जितेन्द्रप्रसाद यादवले लामिछानेको स्वास्थ्य रिपोर्ट अध्ययन गर्दै लामो समयसम्म घाम नपाउने र कारागारभित्र सीमित वातावरणमा रहनु परेको कारण शरीरमा भिटामिन डी घटेको निष्कर्ष निकालेका छन्।
स्वास्थ्यमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले डा. यादव सोमबारै नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका थिए।

